काठमाडौँ । नेपाली अटोमोबाइल क्षेत्रलाई अब केवल आयातमा सीमित नराखी स्वदेशी उत्पादन, हरित ऊर्जा र प्रविधिसँग जोड्दै अघि बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
मंगलबार नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आयोजित १८औँ ‘नाडा अटो शो २०२६’ को उद्घाटन गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई सवारीसाधन क्षेत्रमा आत्मनिर्भर बनाउन नवप्रवर्तन र हरित ऊर्जामा जोड दिनुपर्ने बताए ।
नाडाको ५० औँ वर्षगाँठ अर्थात स्वर्ण जयन्तीका अवसरमा आयोजित यस प्रदर्शनीलाई सामान्य व्यापारिक मेलाका रूपमा मात्र नलिन आग्रह गर्दै उपराष्ट्रपति यादवले यसलाई देशको आर्थिक रूपान्तरणको मार्गचित्र कोर्ने माध्यम बनाउनुपर्ने धारणा राखे । उनले स्वदेशी जलविद्युत्को प्रयोग बढाएर विद्युतीय सवारीसाधन (EV) प्रवर्द्धन गर्न सके इन्धन आयातमा हुने ठूलो रकम जोगिने उल्लेख गरे ।
विद्युतीय सवारीको विस्तारले प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनका असर कम गर्न प्रत्यक्ष सहयोग पुग्ने बताउँदै उनले अटोमोबाइल क्षेत्रको विकास र लाभ समाजका सबै वर्गसम्म पुग्नुपर्नेमा जोड दिएका छन् । उद्योगी, व्यवसायी र सरकारको साझा प्रयासबाट मात्र समृद्ध नेपालको निर्माण सम्भव हुने उनको भनाइ थियो ।

