काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा पुनरावलोकनको अनुमति दिएसँगै पार्टीभित्र बढ्दै गएको दूरी अन्त्य गर्न शीर्ष नेतृत्वलाई ताकेता गरिएको छ ।
कांग्रेस नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई सार्वजनिक अपिल गर्दै आन्तरिक मतभेद र आरोप-प्रत्यारोप रोकेर सर्वपक्षीय एकताको वातावरण बनाउन आग्रह गरेका हुन् ।
मुलुकको विद्यमान राजनीतिक अवस्था र संवैधानिक व्यवस्थामाथि परेको दबाबलाई सामना गर्न पनि पार्टी एकजुट हुनुपर्नेमा खड्काले जोड दिएका छन् । अदालतको पछिल्लो निर्णयलाई पार्टीलाई पुनः एकीकृत बनाउने अन्तिम अवसरका रूपमा लिनुपर्ने उनको ठम्याइ छ ।
नेता खड्काले नेतृत्वले हिम्मतका साथ एकताको नेतृत्व गरेमा आफू लगायत सम्पूर्ण नेता-कार्यकर्ताले पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । साथै, भ्रातृ संस्था तथा शुभेच्छुकहरूलाई सामाजिक सञ्जालमा हुने अमर्यादित टिप्पणी बन्द गरी आपसी सहकार्यमा जोड दिन उनले आह्वान गरेका छन् ।

