काठमाडौँ । नेपालले चीन र दक्षिण एसियाली क्षेत्रबिच आर्थिक, व्यापारिक तथा जनस्तरको सहकार्य बढाउन एक गतिशील पुलको रूपमा भूमिका खेल्न सक्ने परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन् ।
नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट तथा चीनको फुदान विश्वविद्यालयअन्तर्गत रहेको दक्षिण एसिया अध्ययन केन्द्रद्वारा संयुक्त रूपमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा उनले सो धारणा राखेका हुन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया : विकसित क्षेत्रीय व्यवस्थामा चीन–भारत–नेपाल त्रिपक्षीय सम्बन्ध’ विषयक उक्त कार्यक्रममा बोल्दै उनले भारत र चीन दुवै छिमेकीसँग नेपालको सम्बन्ध थप सुदृढ बन्दै गएको स्पष्ट पारे ।
नेपाललाई केवल भूपरिवेष्टित राष्ट्रमा सीमित नराखी चीन र दक्षिण एसियाली मुलुकहरूलाई जोड्ने जीवन्त माध्यम बनाउने सरकारको दीर्घकालीन लक्ष्य रहेको उनले बताए । एसियाली क्षेत्रमा भइरहेको आर्थिक रूपान्तरणले सबैका लागि साझा समृद्धिका अवसरहरू ल्याएको उल्लेख गर्दै सहकार्य नै दिगो विकासको मुख्य आधार भएको उनको भनाइ थियो ।
चीन र भारतले हासिल गरेको निरन्तरको आर्थिक प्रगतिले नेपालजस्ता छिमेकी देशहरूलाई व्यापार, लगानी, पूर्वाधार विकास, पर्यटन तथा प्रविधि हस्तान्तरणमा ठुलो मद्दत पुग्ने उनले उल्लेख गरे । नेपालको वैदेशिक नीतिको मुख्य प्राथमिकता नै आर्थिक कूटनीति रहेको र यसले आम नागरिकको जीवनस्तर सुधार गर्ने, नयाँ रोजगारी सिर्जना गर्ने तथा दिगो विकास हासिल गर्ने लक्ष्य राखेको उनले जानकारी दिए ।
दुई दिने सम्मेलनमा नेपाल, भारत र चीनका गरी करिब ३० जना कूटनीतिज्ञ, नीति निर्माता तथा रणनीतिक मामिलाका विज्ञहरूको सहभागिता रहेको छ ।

