डडेल्धुरा । वर्षौंदेखि भोगचलन गर्दै आएको जमिनको कानुनी स्वामित्व नपाएका डडेल्धुरा परशुराम नगरपालिका–१२ का स्थानीयको लामो समयपछिको सपना बल्ल साकार भएको छ ।
साविकको जोगबुढा गाविस वडा नं. १ अन्तर्गत पर्ने खजुरानी र तुलाभाडी गाउँका १२ परिवारलाई हालै जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको हो ।
तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगले वि.सं. २०४५ सालमै सो क्षेत्रमा जग्गा नापनक्साको काम सम्पन्न गरेको थियो । तर, प्रशासनिक प्रक्रिया रोकिएपछि स्थानीय बासिन्दाले आफ्नो जमिनको कानुनी प्रमाण पाउन सकेका थिएनन् । त्यसपछि आयोगले २०५५ साल पुस २६ गते पुनः प्रक्रिया थाले पनि काम अधुरै रहँदा पुर्जा वितरण हुन सकेको थिएन ।
हालको समितिको कार्यविधि तथा विद्यमान कानुनी व्यवस्था अनुसार विगतमा रोकिएका अधुरा कामलाई निरन्तरता दिइएको हो । नियमानुसार लाग्ने राजस्व संकलन गरी सबै प्रक्रिया पूरा गरेपछि बल्ल स्थानीय १२ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा हस्तान्तरण गरिएको हो । करिब चार दशक लामो प्रशासनिक उल्झन र प्रतीक्षापछि हातमा लालपुर्जा परेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।

