काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा नेपालको नजिक रहेकाले अधिकांश भू-भागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद्का अनुसार अहिले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ । मधेश प्रदेशसहित गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा भने आंशिक बदली छ । हाल कोशी, बागमती र लुम्बिनीका धेरैजसो ठाउँ, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा गण्डकीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहनेछ । हिमाली तथा पहाडी भू-भागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही ठाउँ तथा मधेश, कोशी, बागमती र गण्डकीका तराई क्षेत्रका थोरै स्थानमा वर्षा हुन सक्नेछ । बागमती, गण्डकी र कर्णालीका पहाडी इलाकाका साथै लुम्बिनीका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति पनि हिमाली र पहाडी भेगमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली हुनेछ । पहाडी तथा हिमाली भू-भागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना कायम छ ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थान तथा अन्य प्रदेशका तराई क्षेत्रका एक-दुई ठाउँमा मध्यम वर्षा हुन सक्नेछ । रातिको समयमा पनि बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको जोखिम रहेको महाशाखाले जनाएको छ ।

