काठमाडौँ । देशभरको मौसममा आज कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा देखिएको छ भने तराईका केही स्थानमा हुस्सु र तुवाँलो लागेको छ ।
दिउँसोको समयमा हिमाली भेगका साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने अन्य भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले उल्लेख गरेको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भाग तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ । साथै बिहानपख उपत्यका र खोँचसहित तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले जानकारी दिएको छ ।

