काठमाडौँ । सार्वजनिक निकायका जिम्मेवार अधिकारीहरूमाथि उजुरी पर्दैमा दोषी करार गरेर चरित्र हत्या गर्न नमिल्ने गृहमन्त्री सुदन गुरुङले स्पष्ट पारेका छन् ।
शुक्रबार व्यवस्थापिका संसद्अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले संसद्कै अर्को समितिमा प्रशासनिक तथा प्रहरी नेतृत्वप्रति लक्षित गरी गरिएको व्यवहारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे । गत बुधबार सार्वजनिक लेखा समितिमा प्रहरीको पोसाक तथा अन्य आवश्यक सामान खरिदसम्बन्धी विषयमा छलफल हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार गृहसचिव, सहसचिवहरू र नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्कीमाथि आक्रामक रूपमा प्रस्तुत भएका थिए ।
उक्त घटनाबारे आफ्नो धारणा राख्दै गृहमन्त्री गुरुङले आफू सो समितिमा उपस्थित नरहेको भए पनि गृह प्रशासनका उच्च अधिकारीहरूमाथि गरिएको त्यस्तो व्यवहार अनुपयुक्त र गलत भएको टिप्पणी गरे । उजुरी वा आरोप लाग्दैमा संसदीय समिति वा सांसदहरू आफैँ न्यायाधीश बन्न नमिल्ने उल्लेख गर्दै उनले कुनै पनि विषयमा परेको निवेदनकै आधारमा व्यक्तिको सामाजिक प्रतिष्ठामा आँच पुर्याउन नपाइने धारणा राखे ।

