काठमाडौँ । उपत्यकामा सिर्जित खाना पकाउने एलपी ग्यासको असहज परिस्थितिलाई ध्यानमा राख्दै आज काठमाडौँका सात प्रमुख स्थानबाट ग्यास सिलिन्डर बिक्री-वितरण गरिने भएको छ ।
नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँको संयुक्त पहलमा विभिन्न उद्योगका ग्यास सिलिन्डर वितरण गर्न लागिएको हो । निगमले सार्वजनिक गरेको सूचना अनुसार टेकु परिसर, बूढानीलकण्ठको चपलीस्थित पशु सेवा शाखा, कीर्तिपुरको राधास्वामी परिसर, नयाँ बजार जुडो हल परिसर, तारकेश्वर नगरपालिका परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रबाट ग्यास सिलिन्डर खरिद गर्न सकिनेछ ।
बिक्री केन्द्रहरू अनुसार उपलब्ध ब्रान्डहरू फरक-फरक रहेका छन् । टेकुमा नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम र सगर ब्रान्डका ग्यास उपलब्ध गराइएको छ । त्यसैगरी, चपलीबाट नेपाल, एचपी र भानु तथा कीर्तिपुरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीकृष्ण, साईबाबा र श्रीमाया ब्रान्डका सिलिन्डर बिक्री गरिनेछ ।
नयाँ बजार केन्द्रमा नेपाल, एचपी र ओम ब्रान्डका साथै तारकेश्वरमा नेपाल र एचपी ब्रान्डका ग्यास राखिएका छन् । चन्द्रागिरी केन्द्रबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा ठिमीस्थित केन्द्रबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट/सुगम र एसटीसी ब्रान्डका ग्यास उपलब्ध हुने निगमले जनाएको छ ।
हाल ग्यासको आयात नियमित नै रहेको र उद्योगहरूले आफ्ना डिलरमार्फत वितरण जारी राखेको निगमको भनाइ छ । नियमित विक्रेताबाट ग्यास नपाई समस्यामा परेका र अत्यावश्यक परेका उपभोक्तालाई मात्र नागरिकता वा राष्ट्रिय परिचयपत्र लिई बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म तोकिएका स्थानमा पुगेर ग्यास खरिद गर्न आग्रह गरिएको छ ।

