काठमाडौँ । देशैभर मनसुनी वायुको सक्रिय प्रभाव रहँदा विभिन्न प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना देखिएको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास अवस्थित छ ।
यसका कारण कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो र राति पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लाग्ने र धेरैजसो स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भारी वर्षा हुन सक्छ भने गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत जोखिम रहेको छ ।

