काठमाडौँ । मानवीय सेवामा समर्पित कार्यकर्ता र स्वास्थ्यकर्मीहरूको सुरक्षाको गम्भीर मुद्दालाई उठाउँदै आज संसारभर विविध कार्यक्रमका साथ विश्व मानवीय दिवस मनाउन लागिएको छ ।
विशेष गरी अशान्त र द्वन्द्व प्रभावित क्षेत्रमा ज्यान जोखिममा राखेर खटिने सहायताकर्मीहरूको रक्षा र उनीहरूमाथिका आक्रमण रोक्न तत्काल ठोस कदम चाल्नुपर्नेमा यसपटक मुख्य जोड दिइएको छ ।
‘मानवताका लागि कार्य गरौँ’ भन्ने मुख्य नाराका साथ सञ्चालित यस वर्षको अभियानले केवल चिन्ता व्यक्त गरेर मात्र नपुग्ने र अब व्यावहारिक परिणाम देखिनुपर्ने स्पष्ट सन्देश दिएको छ । द्वन्द्वग्रस्त इलाकामा अस्पताल, स्वास्थ्य चौकी, एम्बुलेन्स तथा स्वास्थ्यकर्मीहरूमाथि भइरहेका शृङ्खलाबद्ध हमलाले अत्यावश्यक स्वास्थ्य सेवा ठप्प हुनुका साथै सर्वसाधारणको जीवन झन् जोखिममा परेको भन्दै यस क्षेत्रको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न अपिल गरिएको छ ।
सहायता सामग्री र सेवा पुर्याउने क्रममा हुने हिंसा र आक्रमणबाट सबैभन्दा बढी स्थानीय तथा राष्ट्रिय स्तरका कार्यकर्ताहरू प्रभावित हुने गरेका छन् । तथ्याङ्क अनुसार मानवीय सहायताका क्षेत्रमा हुने कुल हिंसात्मक घटनामध्ये करिब ९६ प्रतिशतको मार तिनै स्थानीय कर्मचारीहरूले भोग्नुपरेको छ । अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको तुलनामा अग्रपंक्तिमा रहेर काम गर्ने स्थानीय जनशक्ति उच्च जोखिममा रहने भएकाले उनीहरूको अधिकार र सुरक्षाका लागि अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण पालना हुनुपर्ने राष्ट्रसंघको ठहर छ ।
विश्वका नेताहरू तथा द्वन्द्वरत पक्षहरूलाई कानुनको पालना गर्न गम्भीर ध्यानाकर्षण गराउँदै मानवीय सेवामा खटिएकाहरूमाथि हुने आक्रमणका दोषीलाई उम्किन नदिई जवाफदेही बनाउन विश्व समुदायसँग माग गरिएको छ ।
सन् २००३ अगस्ट १९ मा इराकको बगदादस्थित नहर होटलमा भएको विनाशकारी बम विस्फोटमा परी संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि सर्जियो भिएरा दे मेलोसहित २२ जना सहायता कार्यकर्ताले ज्यान गुमाएका थिए । सोही त्रासदीपूर्ण घटनाको सम्झना र मानवीय सेवामा समर्पित व्यक्तिहरूको योगदानको सम्मानस्वरूप संयुक्त राष्ट्रसंघ महासभाको निर्णय अनुसार राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयको नेतृत्वमा हरेक वर्ष अगस्ट १९ मा यो दिवस मनाउने गरिन्छ ।

