काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको उपस्थितिमा नेपाल गुणस्तर परिषद्को ११९औँ बैठक काठमाडौँमा सम्पन्न भएको छ ।
बैठकमा विषयगत प्राविधिक समितिहरूले सिफारिस गरेअनुसार नेपाल गुणस्तर तथा अन्तर्राष्ट्रिय मापदण्डसम्बन्धी विभिन्न मस्यौदामाथि छलफल गर्दै तिनलाई स्वीकृति दिने निर्णय गरियो ।
परिषद्ले सवारीसाधनमा प्रयोग हुने ग्यासोलिनमा ब्लेन्डिङ कम्पोनेन्टका रूपमा मिसाइने एन्हाइड्रस इथानोलको स्पेसिफिकेसनका साथै इलास्टोमेरिक ब्रिज बेयरिङको आवश्यक मापदण्ड पारित गरेको छ । यसका साथै, रबरको कठोरता मापनका लागि निर्धारण गरिएका अन्तर्राष्ट्रिय मापदण्डहरू आइएसओ ४८-१: २०१८ र आइएसओ ४८-२: २०१८ लाई पनि अनुमोदन गरिएको छ ।
त्यस्तै, रबरको त्वरित एजिङ तथा ताप प्रतिरोध परीक्षणसम्बन्धी आइएसओ १८८: २०२३ का साथै रबर र थर्मोप्लास्टिकको कम्प्रेसन सेट तोक्ने आइएसओ ८१५-१: २०१९ र आइएसओ ८१५-२: २०१९ मापदण्डलाई समेत स्वीकृत गरिएको छ ।
उद्योग तथा उत्पादन क्षेत्रको गुणस्तर सुदृढ बनाउन, प्रयोगशालाको परीक्षण प्रणालीलाई थप प्रभावकारी तुल्याउन र स्वदेशी सामग्रीलाई अन्तर्राष्ट्रिय बजार अनुकूल बनाउन यी स्वीकृत मापदण्डहरूले ठूलो सहयोग पुर्याउने विश्वास परिषद्ले लिएको छ ।

