काठमाडौँ । चीनतर्फ नदी थुनिएर बनेको ताल फुटेर भोटेकोशीमा जुनसुकै बेला भीषण बाढी आउन सक्ने खतरा बढेको छ ।
बाढी पूर्वानुमान महाशाखाले भूउपग्रह तस्बिर र चिनियाँ अधिकारीहरूबाट प्राप्त सूचनाका आधारमा तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु र उद्धारकर्ताहरूलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ। गत भदौ १० गते रसुवाको भोटेकोशीमा बाढी आएको स्थानमा बनेको तालको आकार निरन्तर बढ्दै गएकाले त्यो फुटेमा ढुंगा, माटो र गेग्रानसहितको ठूलो बाढी बग्न सक्ने अनुमान गरिएको छ ।
हाल भोटेकोशी, त्रिशूली, कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीसहितका प्रमुख नदीहरूमा पानीको बहाव सतर्कता तहभन्दा तलै रहे पनि माथिल्लो क्षेत्रको जोखिमका कारण अर्को सूचना नआएसम्म सुरक्षित स्थानमा रहन महाशाखाले ताकेता गरेको छ।

