महोत्तरी । डुमरवानाको भित्री सडकखण्डमा मङ्गलबार बिहान विद्यार्थी बोकेको एउटा बोर्डिङ स्कुलको बस दुर्घटनामा परेको छ ।
इमली बजार क्षेत्रबाट गौशालातर्फ जाँदै गरेको मोर्डन शारदा शिक्षा सदनको बा १ क ६१२९ नम्बरको बस एक्कासि अनियन्त्रित भई सडक किनारको उखुबारीमा पल्टिएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार बिहान करिब साढे सात बजे भएको उक्त दुर्घटनामा सवारी चालकसहित ६ जना घाइते भएका छन् । घाइते हुनेहरूमा ४० वर्षीय सवारी चालक विजय भुजेलका साथै विद्यार्थीहरू १० वर्षीय प्रतीक कुशवाहा, ८ वर्षीय प्रज्ज्वल कुशवाहा, १३ वर्षीया प्रिती कुशवाहा, १३ वर्षीय उमर शेख र ६ वर्षीय आदर्श कुशवाहा रहेका छन् ।
दुर्घटनालगत्तै कान्तिबजारस्थित प्रहरी चौकीको टोली र स्थानीय बासिन्दा मिलेर घाइतेहरूको उद्धार गरेका थिए । घाइतेहरूको शरीरका विभिन्न भाग जस्तै खुट्टा, नाक र कम्मरमा चोट लागेको छ । जसमध्ये चालक भुजेल र उमर शेखलाई थप उपचारका लागि गौशालास्थित बीके अस्पताल लगिएको छ भने बाँकी चार जना विद्यार्थीको स्थानीय स्वास्थ्य संस्थामा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

