काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद भवनमा संसदीय समितिका कामकारबाहीलाई तीव्रता दिन आज एकैदिन पाँचवटा समितिका बैठकहरू आव्हान गरिएको छ ।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा विभिन्न उपसमितिहरूले तयार पारेका प्रतिवेदन पेश गर्ने र तिनमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ । सोही समयमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा भने मुस्लिम आयोगका पदाधिकारीहरूलाई बोलाएर आयोगको हालसम्मको कामकारबाही तथा प्रगतिका विषयमा छलफल गर्ने तयारी छ ।
यसैगरी दिउँसो १ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । उक्त बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुनुका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विभिन्न कारागार कार्यालयहरूको स्थलगत अनुगमन प्रतिवेदन पेश गर्ने एजेन्डा रहेको छ ।
बिहान १० बजे नै बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको मौजुदा अवस्था, समसामयिक विषय, देखा परेका चुनौती र भावी कार्ययोजनाबारे विस्तृत छलफल हुनेछ ।
यस्तै दिउँसो २:३० बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठक बस्नेछ, जसले मुलुकको समग्र वर्तमान अवस्था र समसामयिक विषयहरूमा केन्द्रित रहेर छलफल गर्ने जनाइएको छ ।

