काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अवधिमा उल्लेखनीय वित्तीय सुधार दर्ज गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा टेलिकमको खुद नाफा ४७.५८ प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको हो । अघिल्लो वर्ष कम्पनीले ५ अर्ब ९९ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आय ३.१२ प्रतिशत अर्थात १ अर्ब ५ करोड ५९ लाख रुपैयाँले बढेर ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, टेलिकमको कुल आय पनि २.६५ प्रतिशतले वृद्धि भई ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ रहेको थियो ।
वित्तीय विवरण अनुसार कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा परिशोधन अघिको आम्दानी (EBITDA) १०.७३ प्रतिशतले बढेर २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ । यसैगरी, कर अघिको मुनाफामा ३४.६६ प्रतिशतको वृद्धि भई १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ कायम भएको छ । यससँगै कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ४९ रुपैयाँ २५ पैसा पुगेको छ ।
नेपाल टेलिकमका अनुसार वित्तीय बजारमा ब्याजदर क्रमिक रूपमा घट्दा कम्पनीको ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा २२.८८ प्रतिशत (८६ करोड १९ लाख रुपैयाँ) ले घटेको छ । तर, मोबाइल सेवातर्फको आयमा २.२८ प्रतिशत (६४ करोड ५४ लाख रुपैयाँ) को सुधार आएकाले समग्र नाफा बढाउन सहयोग पुगेको हो ।
कम्पनीले व्यावसायिक लागत बढी हुने दुर्गम तथा विकट क्षेत्रहरूमा पनि सञ्चार सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ ।

