काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीहरूले लिन लागेको विश्वासको मतसम्बन्धी प्रक्रियामा तटस्थ बस्ने निर्णय गरेको छ ।
पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार दुवै प्रदेशका संसदीय दलका नेताहरूलाई सोही निर्देशनअनुरूप प्रदेश सभा सदस्यहरूका लागि ह्विप जारी गर्न भनिएको छ ।
प्रदेशमा सरकार गठन वा समर्थनको विषयमा पार्टीले अर्को औपचारिक निर्णय नगर्दासम्म तटस्थताको नीति नै कायम रहने निर्देशनमा स्पष्ट पारिएको छ । बागमती प्रदेश सभामा राप्रपाका १२ र लुम्बिनी प्रदेश सभामा ४ जना सांसद रहेका छन् ।

