काठमाडौँ । उपत्यकाको ऐतिहासिक एवं सांस्कृतिक परिचय बोकेको प्रसिद्ध गुंला पर्व आजबाट विधिवत रूपमा आरम्भ भएको छ ।
नेपाल संवत्को नवौँ महिना ‘गुंला’भर बौद्धमार्गीहरू एकाबिहानै उठेर विभिन्न परम्परागत बाजागाजाका साथ चैत्य तथा बौद्ध बिहारहरूको दर्शन र परिक्रमा गर्छन् । एक महिनासम्म चल्ने यस पावन अवधिमा नामसंगीति पाठ, बुद्धको विशेष उपासना र धार्मिक पदयात्रा गरिन्छ ।
‘गुंला’ शब्द नेवारी भाषाबाट आएको हो, जहाँ ‘गुं’को अर्थ पहाड वा जङ्गल र ‘ला’को अर्थ महिना हुन्छ । विक्रम संवत्को पात्रो अनुसार साउन शुक्लपक्ष प्रतिपदादेखि भाद्र शुक्लपक्ष प्रतिपदासम्मको अवधि नै गुंला महिना हो । यस अवधिमा बिहान, दिउँसो र साँझ तीनै समय काठमाडौँ उपत्यकाका विभिन्न बिहारहरूमा बौद्ध मन्त्र तथा संगीतिक पाठ घन्किने गर्छ ।
यस पर्वको मुख्य विशेषता नै परम्परागत बाजागाजा हो । महिनाभर विभिन्न चैत्य तथा मठमन्दिर परिसरमा धाः, घिमेः, नगरा, नाय्खिं, दमखिं, दबदब, मृदङ्ग, पौ पिचा र क्वचा (खिं) जस्ता मौलिक बाजाहरू बजाएर धार्मिक वातावरण सिर्जना गरिन्छ । यस अवधिमा विशेषगरी धा बाजा, म्वायेली र नेकू बाजाको बेग्लै महत्त्व रहन्छ । गुंला महिनाको पूर्णिमाका दिन लाखे नाच प्रस्तुत गर्ने परम्परा समेत छ ।
धार्मिक मान्यता अनुसार यस महिनामा बिहानै परम्परागत बाजाको तालमा काठमाडौँको स्वयम्भू महाचैत्य, बौद्ध तथा स्थानीय गुम्बाहरू परिक्रमा गर्नाले जीवनका पाप नष्ट भई पुन्य प्राप्त हुने विश्वास गरिन्छ । पर्व अवधिभर बर्जित खाद्य पदार्थ जस्तै मासु, अण्डा, लसुन र प्याज जस्ता वस्तु त्यागेर शुद्ध र सात्त्विक आहार मात्र ग्रहण गर्ने र दैनिक स्नान गरी शुद्ध रहने कडा धार्मिक नियम पालना गरिन्छ ।

