काठमाडौँ । मकवानपुरको भीमफेदीमा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएकी उच्च अदालत वीरगन्जका रजिष्ट्रार तारादत्त बडुकी श्रीमती लक्ष्मी बडुको उपचारका क्रममा ज्यान गएको छ ।
काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो मंगलबार बिहान भीमफेदी गाउँपालिका-६ जुरीखेतमा अनियन्त्रित भई सडकबाट करिब ५० देखि ६० मिटर तल खोल्सामा खसेको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएकी ४९ वर्षीया बडुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँस्थित सैनिक अस्पताल छाउनी ल्याइएको थियो ।
बिहान करिब १० बजे अस्पताल पुर्याइएकी उनको उपचारकै क्रममा साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सवारीमा सवार उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिष्ट्रार तारादत्त बडु, उहाँका छोरा रितेन्द्र बडु, दिदी रिता बडु तथा चालक छुनिलाल चौधरीसमेत घाइते भएका छन् ।

