काठमाडौँ । देशमा शान्ति सुरक्षा सुदृढ बनाउन र नागरिकलाई प्रवाह गरिने सेवालाई अझ प्रभावकारी बनाउन नेपाल प्रहरीलाई समयसापेक्ष सुदृढ गर्दै लगिने भएको छ ।
गृह मन्त्रालयका उच्च पदाधिकारीहरूले प्रहरी प्रधान कार्यालयको स्थलगत अवलोकन गर्दै उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी उच्च मनोबलका साथ काम गर्न सुरक्षाकर्मीहरूलाई आह्वान गरेका छन् ।
अवलोकनका क्रममा विपद् व्यवस्थापन, आधुनिक अनुसन्धान प्रविधि र तथ्याङ्क व्यवस्थापनका क्षेत्रमा भइरहेका कामबारे जानकारी लिइएको थियो । हालैका प्राकृतिक विपद्मा ज्यान गुमाएका तथा कर्तव्यपालनाको क्रममा अमर भएका प्रहरीहरूप्रति सम्मान व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
सीमित स्रोतसाधनका बिच पनि अपराध नियन्त्रण र कानुन कार्यान्वयनमा नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै नागरिकमैत्री सेवालाई प्राथमिकता दिन निर्देशन दिइएको छ ।
यता प्रहरी नेतृत्वले पनि विपद्मा परेका आफ्ना कर्मचारीहरूको खोजी तीव्र पारिएको जानकारी दिँदै आधुनिक प्रविधि र स्रोतसाधन थप गर्न मन्त्रालयको ध्यानकर्षण गराएको छ ।

