काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका श्रमिक तथा प्राविधिकहरूको खोजी र उद्धारका लागि प्रयासहरू जारी राखिएका छन् ।
नेपाली सेना, भारतीय सेना तथा आयोजनाका प्राविधिकहरू सम्मिलित संयुक्त टोलीले सुरुङमा जम्मा भएको लेदो, माटो र भग्नावशेष हटाएर विद्युत् गृहसम्म पुग्ने बाटो खोल्न निरन्तर काम गरिरहेको छ । उद्धार कार्यलाई गति दिन डोजर, लोडरसहितका भारी उत्खनन उपकरणहरूको प्रयोग गरिएको छ ।
टोलीले शनिबारसम्म थप ७० मिटर सुरुङ सफा गरिसकेको जानकारी आयोजना प्रमुखले दिएका छन् । अब विद्युत् गृहसम्म पुग्न करिब ६० मिटर क्षेत्र मात्रै सफा गर्न बाँकी रहेको छ । टोलीले आज राति पनि कामलाई निरन्तरता दिँदै विद्युत् गृहसम्म पुग्ने लक्ष्य राखेको छ ।

