काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका दुई जनाको उद्धार गरी उपचार प्रक्रिया अघि बढाइएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विज्ञहरूको संयुक्त टोलीले आयोजनाभित्र फसेका उनीहरूलाई जीवितै बाहिर निकाल्न सफल भएको हो ।
उद्धार गरिएकामध्ये दोस्रो पटक बाहिर निकालिएका कबीर महर्जनको स्वास्थ्य स्थिति गम्भीर रहेको छ । उनलाई तत्कालै काठमाडौँ ल्याएर छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यस्तै, पहिलो चरणमा उद्धार गरिएका सञ्जय साहको अवस्था भने सामान्य र स्थिर छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहे तापनि विस्तृत परीक्षणका लागि उनलाई पनि छाउनीस्थित सैनिक अस्पतालमै ल्याउने तयारी गरिएको छ ।
बाढी लगत्तै सुरुङमा मानिसहरू फसेको आशङ्कामा सुरक्षा निकायले लगातार उद्धार कार्य सञ्चालन गरेका थिए ।
