धनकुटा । धनकुटा नगरपालिकाले सडक छेउछाउमा थन्किएका खाली जमिनको सदुपयोग गर्दै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि बेसार खेती विस्तार सुरु गरेको छ ।
स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कार्यमा प्रोत्साहित गर्ने उद्देश्यले नगरभित्रका विभिन्न सडक किनारमा यो अभियान थालिएको हो ।
विशेष गरी कोशी राजमार्गअन्तर्गत पर्ने सरस्वती चोक-सल्लेरी खण्ड र अन्य भित्री सडक किनारका गरी करिब सात रोपनी क्षेत्रफलमा अहिले बेसार रोपिएको छ । नगरपालिका वातावरण शाखा प्रमुख उपेन्द्र खनालका अनुसार मुख्य लक्ष्य तत्काल ठूलो आम्दानी लिनुभन्दा पनि सडक क्षेत्रलाई स्वच्छ, हरियाली र आकर्षक बनाउनु रहेको छ । पछिल्लो समय बाँदर आतङ्कका कारण परम्परागत खेतीमा नोक्सानी व्यहोरिरहेका किसानका लागि वन्यजन्तुले क्षति नपुर्याउने बेसार एक उत्तम विकल्प बनेको छ ।
नगरपालिकाले गत आर्थिक वर्षमा प्रतिकिलो १०० रुपैयाँका दरले एक क्विन्टल बीउ खरिद गरेर यो कार्यक्रम अघि बढाएको हो । यसबाट उत्पादन हुने बेसारलाई बीउका रूपमा प्रयोग गरी आगामी दिनमा थप ऐलानी तथा प्रति जग्गामा खेती विस्तार गर्ने र इच्छुक कृषक तथा सामुदायिक वनलाई वितरण गर्ने योजना बनाइएको छ ।
हाल यसको हेरचाह तथा सडक सरसफाइका लागि नगरपालिकाको स्वरोजगार कार्यक्रममा आबद्ध जनशक्तिलाई परिचालन गरिएको छ।

