चितवन । नारायणी नदीको पुलमा ठोक्किएर अड्किएको राइनो क्रुजलाई सुरक्षित रूपमा पन्छाउने कार्य तीव्रताका साथ अघि बढाइएको छ ।
पुलको मुख्य भौतिक संरचनामा कुनै आँच नआउने गरी क्रुज पन्छाउने विधिबारे प्राविधिकहरूले अध्ययन तथा काम सुरु गरेका हुन् । ठूलो क्रेनलाई घटनास्थलसम्म पुर्याउनका लागि दुई वटा डोजर प्रयोग गरी बाटो बनाउने काम भइरहेको छ ।
सडक डिभिजन भरतपुरका प्रमुखसहितका इन्जिनियरहरू आफैं खटिएर क्रेन जाने मार्ग तयार पारिरहेका छन् । क्रुज निकाल्ने प्रयास भइरहे पनि पुलबाट गाडीहरूको आउजाउ भने साविकबमोजिम नै चलिरहेको छ ।

