काठमाडौँ । नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।
संयुक्त राष्ट्रसंघका लागि न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित एक विशेष समारोहमा परराष्ट्रमन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नवालले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै औपचारिक सम्बन्धको सुरुआत गरेका हुन् ।
हस्ताक्षर समारोहअघि दुवै देशका मन्त्रीहरूबीच बहुपक्षीय सहयोग र द्विपक्षीय हितका विषयमा फलदायी छलफल भएको थियो । भेटका क्रममा जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्ने र दिगो विकासका लक्ष्यहरूलाई द्रुत गतिमा हासिल गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ ।
यसका साथै पर्यटन तथा शिक्षा क्षेत्रमा अनुभव र ज्ञान आदानप्रदान गर्दै अघि बढ्ने सम्भावनाबारे पनि दुवै पक्षबीच कुराकानी भएको छ । क्यारिबियन क्षेत्रको टापु राष्ट्र ग्रेनाडासँगको यो नयाँ गाँसिएसँगै नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएका देशहरूको संख्या १८६ पुगेको छ ।

