काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन न्युयोर्क पुगेका नेपाली टोलीका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिता हेराथबीच उच्चस्तरीय छलफल भएको छ ।
न्युयोर्कस्थित श्रीलंकाको स्थायी नियोगमा सम्पन्न उक्त भेटवार्तामा दुई देशबीचको कूटनीतिक तथा व्यापारिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा कुराकानी भएको हो ।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै निम्तिएको जलवायुजन्य विपद्का बेला श्रीलंका सरकार र त्यहाँका नागरिकले दर्शाएको सहानुभूति, ऐक्यबद्धताका साथै मानवीय तथा आर्थिक सहयोगका लागि विशेष धन्यवाद ज्ञापन गरे ।
वार्ताका क्रममा दुवै देशका मन्त्रीहरूले नेपाल र श्रीलंकाबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्याउन द्विपक्षीय संयन्त्रका बैठकहरू नियमित रूपमा बस्नुपर्ने निष्कर्ष निकालेका छन् ।
साथै, व्यापार, पर्यटन, शिक्षा, संस्कृति, हवाई तथा यातायात सम्पर्क र जनस्तरको सम्बन्धलाई अझ सुदृढ गर्दै लैजाने प्रतिबद्धतासमेत दुवै पक्षले जनाएका छन् ।

