काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा दाबीको क्षति मूल्याङ्कनलाई थप पारदर्शी र प्रविधिमैत्री बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ ।
सर्भेयर छनोटमा हुने ढिलाइ र पक्षपात अन्त्य गर्ने उद्देश्यले तयार पारिएको यो स्वचालित प्रणालीको परीक्षणसमेत सम्पन्न भइसकेको छ ।
यसअघि म्यानुअल तरिकाले सर्भेयर छनोट गर्दा केही निश्चित सर्भेयरले मात्रै धेरै काम पाउने र अन्यले अवसर नपाउने गुनासो व्यापक थियो । नयाँ प्रणाली लागू भएसँगै बीमा दाबी दर्ता हुनासाथ सर्भेयरको विज्ञता, वरिष्ठता, भौगोलिक उपस्थिति र हालको कार्यचाप (पोर्टफोलियो) का आधारमा सफ्टवेयरले स्वतः उपयुक्त सर्भेयर खटाउनेछ । यसले दाबी फर्छ्यौट प्रक्रियालाई छिटो, कम खर्चिलो र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
हाल प्रणालीमा ८८ संस्थागतसहित ६८० जना सर्भेयरको विवरण प्रविष्ट भइसकेको छ । प्राधिकरणले यस प्रणालीको सुरक्षा तथा प्राविधिक परीक्षण गरी शीघ्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । यसै सन्दर्भमा असोज १३ गते निर्जीवन बीमा कम्पनीका दाबी तथा आईटी प्रमुखहरूलाई अनलाइन तालिम दिन लागिएको छ ।

