काठमाडौँ । हरेक वर्ष सेप्टेम्बर २० का दिन मनाइने विश्व सरसफाइ दिवसका अवसरमा यस वर्ष ‘सफा थालनीदेखि सफा सहरसम्म’ भन्ने मूल नाराका साथ विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिँदैछ ।
खाद्य वस्तुको अनावश्क बर्बादी नियन्त्रण गर्ने, उपलब्ध स्रोतको उपयोगिता बढाउने र पुन:प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यस पटकको अभियान केन्द्रित गरिएको छ ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले सन् २०२४ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२२ सम्ममा विश्वभरका घरायसी, खुद्रा व्यापार तथा खाद्य सेवा क्षेत्रबाट मात्रै करिब १ अर्ब ५ करोड टन खानेकुरा खेर गएको पाइएको छ ।
एकातिर विश्वका धेरै मानिसहरू अझै पनि भोकमरीको मारमा परिरहेका छन् भने अर्कातर्फ खाद्य पदार्थको जथाभाबी फोहोरले वातावरणीय सन्तुलन बिगार्नुका साथै जमिन, पानी र प्राकृतिक स्रोतहरूमा ठूलो असर पारिरहेको छ ।
यसै अवस्थालाई ध्यानमा राख्दै खानयोग्य खानेकुरा खेर जान नदिनुका साथै जैविक फोहोरको सही व्यवस्थापनमार्फत वातावरणमैत्री र स्वच्छ सहर निर्माण गर्न यस वर्षको दिवसले सबैमा आग्रह गरेको छ ।

