काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजाआजा र दर्शनका लागि आउने श्रद्धालु भक्तजनलाई लक्षित गर्दै पशुपति क्षेत्र विकास कोषले पाँचवटा दर्शन रुटको प्रबन्ध गरेको छ ।
भक्तजनको चापलाई ध्यानमा राख्दै मन्दिरका चारै वटा ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको कोषले जनाएको छ ।
कोषका अनुसार उत्तरतर्फ मित्रपार्क र उमाकुण्ड भई आउने दर्शनार्थीले दक्षिणामूर्ति, कैलाश र बद्रिनसिंह भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट प्रवेश गरी दर्शन गर्न सक्नेछन् । त्यस्तै, गौशाला र जयबागेश्वरी हुँदै आउने भक्तजनका लागि दथुःटोल, पाचा गणेश, अन्नपूर्ण भण्डार र अस्थायी आकाशे पुल प्रयोग गरी भुवनेश्वरी, नासलचोक, शंकराचार्यमठ हुँदै पश्चिमतर्फको काठको मार्ग तय गरिएको छ ।
पूर्वी क्षेत्र सिनामंगल र विमानस्थलबाट आउने श्रद्धालुहरूका लागि तिलगंगा, राममन्दिर, बागमती किनार हुँदै आर्यघाटको पुल तरेर ब्रह्मनाल भएर पूर्वी ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । यस्तै पिङ्गलास्थान तर्फबाट आउनेहरूका लागि चार शिवालय, पञ्चदेवल, वृद्धाश्रम हुँदै दक्षिणतर्फबाट प्रवेश गरी दर्शन गर्ने रुट तोकिएको छ ।
दर्शन व्यवस्थापनलाई प्रभावकारी बनाउन मन्दिर बाहिर पाँचवटा र परिसरभित्र प्रवेश गरेपछि उत्तरतर्फ तीन, पूर्वतर्फ दुई, दक्षिणतर्फ एक र पश्चिमतर्फ दुई गरी कुल आठवटा लाइनको प्रबन्ध गरिएको छ । एकपटकमा आठ जनाले सहजै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको भन्दै कोषले तोकिएकै मार्ग प्रयोग गर्न भक्तजनसँग आग्रह गरेको छ ।

