काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिनुको औचित्य पुष्टि गर्न सर्वोच्च अदालतले नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।
न्यायाधीश हरि फुयालको एकल इजलासले नेपाल प्रहरीको साइबर ब्युरोका नाममा बाटोको म्यादबाहेक ४८ घण्टाभित्र लिखित कारण पेस गर्न आदेश जारी गरेको हो । सर्वोच्चले विपक्षीलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत नियन्त्रणमा लिनुका आधार र प्रमाणसहित लिखित जवाफ प्रस्तुत गर्न भनेको छ ।
प्रसाईंलाई सोमबार बिहान भक्तपुरस्थित उनकै निवासबाट साइबर ब्युरोको टोलीले पक्राउ गरेको थियो । गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी श्रीमती उमा प्रसाईंले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले कारण देखाऊ आदेश जारी गरेको हो ।

