काठमाडौँ । पृथ्वीको औसत तापक्रम कम्तीमा १.८ डिग्री सेल्सियससम्म पुग्ने जोखिम बढेसँगै जलवायु संकट थप चर्कने देखिएको छ ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार यति मात्रामा तापक्रम बढेमा हिमाली क्षेत्रका हिमनदी द्रुत गतिमा पग्लिने, समुद्री सतह उकासिने र तटीय क्षेत्रका सहरहरू जोखिममा पर्नेछन् ।
सन् २०१५ को पेरिस सम्झौताले निर्धारण गरेको १.५ डिग्री सेल्सियसको सुरक्षित सीमा नाघिसकेको अवस्थामा हरेक थप वृद्धिले चरम मौसम र पारिस्थितिक प्रणालीमा अपूरणीय क्षति पुर्याउने चेतावनी दिइएको छ ।
प्रतिवेदन अनुसार औद्योगिक क्रान्तिअघिको तुलनामा तापक्रम ३ डिग्री सेल्सियससम्म बढेमा यो शताब्दीको अन्त्यसम्ममा विश्वका एक चौथाइभन्दा बढी हिमनदी बिलाउनेछन्, जसका कारण समुद्री सतह १३ सेन्टिमिटरसम्म बढ्न सक्छ ।
यसैगरी, उत्सर्जनको वर्तमान अवस्था कायम रहे सन् २०५० सम्ममा विश्वव्यापी खाद्य उत्पादनमा १४ प्रतिशतसम्म गिरावट आउने प्रक्षेपण छ । यद्यपि, जीवाश्म इन्धनको प्रयोग ह्वात्तै घटाउने, शून्य खुद उत्सर्जनको लक्ष्य पछ्याउने र वन विस्तारमार्फत कार्बन सोस्ने प्रविधि अपनाए तापक्रमलाई पुनः नियन्त्रित सीमाभित्र ल्याउन सकिने विकल्प अझै खुला रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रशान्त क्षेत्रका युवा अभियन्ता विशाल प्रसाद र अन्तरसरकारी जलवायु परिवर्तनसम्बन्धी समितिकी (IPCC) सहअध्यक्ष प्राध्यापक डेब्रा रोबर्ट्सले परम्परागत शैली छाडेर नीतिगत तहमा व्यापक फेरबदल र जीवाश्म इन्धनको विस्तारमा तत्काल रोक लगाउनुपर्नेमा जोड दिएका छन् ।

