काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतका तीनवटा विषयगत समितिको बैठक आज बस्दैछ ।
विभिन्न समसामयिक तथा क्षेत्राधिकारभित्र पर्ने विषयमा छलफल गर्न कृषि, उद्योग र कानुन समितिका बैठक बोलाइएको हो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ९ बजे तय गरिएको छ । उक्त बैठकमा जलवायु परिवर्तनका कारण कृषि र प्राकृतिक क्षेत्रमा परेका असरका साथै जलवायु अनुकूलन र न्यायका लागि नेपालले गर्नुपर्ने पहलका विषयमा विचारविमर्श हुनेछ । छलफलका लागि कृषि, वन तथा वातावरण मन्त्री, मन्त्रालयका सचिव र वातावरण विज्ञहरूलाई आमन्त्रण गरिएको छ ।
त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजेका लागि आह्वान गरिएको छ । यस बैठकमा उपसमिति गठनका विषयमा छलफल हुने कार्यसूची छ ।
यसैगरी, बिहान ९ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा अदालतका फैसला कार्यान्वयनको वर्तमान स्थिति, विद्यमान चुनौती र भावी कार्ययोजनाबारे फैसला कार्यान्वयन निर्देशनालयसँग संवाद हुनेछ । बैठकमा कानुनमन्त्री, सचिव र निर्देशनालयका महानिर्देशकलाई बोलाइएको छ ।

