काठमाडौँ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण हालसम्म १ हजार ४ सय ३६ जनाले ज्यान गुमाएका छन् ।
नेपाल प्रहरीले रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ र नवलपरासीका विभिन्न क्षेत्रबाट ती शवहरू सङ्कलन गरिएको जनाएको छ ।
सङ्कलित शवहरूमध्ये १ हजार २ सय ९२ वटाको डिएनए (DNA) नमूना सुरक्षित राखेर अन्तिम संस्कार तथा व्यवस्थापन गरिसकिएको छ । पहिचान हुन नसकेका अन्य शवहरूको हुल्याहा विवरण भने प्रहरीले आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।
यसैबीच रसुवास्थित त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरङभित्रबाट भेटिएका २४ जनाको शव नुवाकोट पुर्याइएको छ । नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी विदुर नगरपालिका–६ स्थित खम्बा क्याम्पमा राखिएका ती शवहरूको अझै सनाखत हुन बाँकी छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) इकवाल हवारीका अनुसार बाढीपछिको विपद्मा आफन्त हराएका परिवारलाई पहिचानका लागि खम्बा क्याम्पमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

