काठमाडौँ । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका तीनवटा विषयगत समितिले आफ्ना विभिन्न कार्यसूचीमाथि छलफल गर्न आज बैठक बोलाएका छन् ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजेका लागि तय गरिएको छ । उक्त बैठकमा आर्थिक वर्ष २०८२-८३ को वार्षिक प्रतिवेदनको मस्यौदाबारे सदस्यहरूबीच छलफल हुने कार्यक्रम रहेको छ ।
यस्तै, बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
यसैगरी, बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भोटेकोशी क्षेत्रमा बाढीले पुर्याएको क्षतिपछि भइरहेको उद्धार, राहत एवम् विपद् व्यवस्थापनको अवस्थाबारे छलफल हुनेछ ।

