काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का समयमा समाचार सम्प्रेषण गर्दा बीभत्स दृश्य, अपुष्ट सूचना, पीडितको गोपनीयता उल्लङ्घन र सनसनीपूर्ण प्रस्तुति नगर्न पत्रकार तथा सञ्चारमाध्यमहरूलाई कडा निर्देशन दिएको छ ।
काउन्सिलद्वारा जारी ‘विपद्का बेला सकारात्मक, मानवीय तथा जिम्मेवार सञ्चारसम्बन्धी सम्पादकीय निर्देशिका, २०८३’ अनुसार सबैभन्दा पहिला समाचार सार्वजनिक गर्ने होडभन्दा सही, पुष्टि भएको र जीवनोपयोगी सूचनालाई प्राथमिकता दिनुपर्नेछ । मृत्यु, घाइते, बेपत्ता, भौतिक क्षति र उद्धारसम्बन्धी समाचार विश्वसनीय स्रोतबाट पुष्टि भएपछि मात्र प्रकाशन गर्न भनिएको छ ।
निर्देशिकामा क्षतविक्षत शव, अत्यधिक रक्ताम्मे दृश्य, मृतकको अनुहार, गम्भीर घाइतेका पीडादायी दृश्य तथा शोकमा परेका परिवार र बालबालिकाका निजी दृश्य प्रसारण नगर्न भनिएको छ । सार्वजनिक हितका लागि यस्ता दृश्य प्रयोग गर्नै परेमा पहिचान लुकाएर र पूर्वसूचना दिएर मात्र प्रयोग गर्नुपर्नेछ ।
यस्तै, सामाजिक सञ्जालका सामग्री प्रयोग गर्नुअघि स्रोत, स्थान, समय, सन्दर्भ र स्वतन्त्र प्रमाण गरी पाँच पक्षको अनिवार्य पुष्टि गर्नुपर्ने व्यवस्था गरिएको छ । पुराना वा अन्य ठाउँका दृश्य, सम्पादित सामग्री, कृत्रिम बुद्धिमत्ता (AI) बाट निर्मित दृश्य तथा अपुष्ट विवरणमा विशेष सावधानी अपनाउन भनिएको छ ।
विपद्का समयमा सुरक्षित स्थान, मौसम, आपत्कालीन सम्पर्क र उद्धारसम्बन्धी उपयोगी सूचनालाई प्राथमिकता दिनुपर्ने र गलत सूचना प्रकाशन भए तत्काल सच्याउनुपर्ने काउन्सिलले स्पष्ट पारेको छ । साथै, रिपोर्टिङका क्रममा उद्धार तथा राहत कार्यमा अवरोध नगर्न र पत्रकार स्वयम्ले पनि जोखिम नलिन आग्रह गरिएको छ । निर्देशिका उल्लङ्घन भएमा पत्रकार आचारसंहिता र कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने काउन्सिलले जनाएको छ ।

