काठमाडौँ । संविधान दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकबाट भ्रष्टाचार र दण्डहीनता पूर्ण रूपमा निर्मूल पार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचारको जरा कतिपय ठाउँमा गहिरो भए पनि त्यसलाई उखेलेर फ्याँक्न अहिले राज्य संयन्त्र र नागरिक तह दुवैबाट बलियो प्रयास भइरहेको स्पष्ट पारे ।
सुशासनबिना देशमा समृद्धिको आधार खडा हुन नसक्ने भन्दै उनले सरकारले प्रशासनिक क्षेत्रमा व्यापक सुधार, शून्य सहनशीलताको नीति र योग्यताका आधारमा नियुक्तिको परिपाटी बसाल्न थालेको दाबी गरे ।
प्रशासनिक संयन्त्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै सुशासनलाई केवल भाषणमा नभई व्यावहारिक काममा उतार्न सरकार लागिपरेको प्रधानमन्त्रीको भनाइ थियो । उनले तीनै तहका सरकारबिनाको समन्वय देश विकास सम्भव नरहेकाले पुरानै ढर्रा र शैलीबाट टाढा रहेर नयाँ ढंगले काम भइरहेको बताए ।
यसका साथै, प्रविधिको प्रयोगमार्फत पारदर्शिता कायम गर्न राष्ट्रिय डिजिटल पूर्वाधार र नयाँ सोचमा आधारित अर्थतन्त्रको विकासमा प्राथमिकता दिइएको उनले उल्लेख गरे । युवापुस्ताले खोजेको पारदर्शी व्यवस्थालाई डिजिटल प्रविधिको माध्यमबाट सुनिश्चित गर्दै लैजाने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

