काठमाडौँ । भूमि प्रशासन कार्यालयमा छुट जग्गा दर्ताका लागि सिफारिस मिसिल पठाउने प्रक्रिया मिलाइदिने बहानामा ९ लाख रुपैयाँ गैरकानुनी रकम असुल गरेको अभियोगमा एक नापी अधिकृत नियन्त्रणमा परेका छन् ।
नापी कार्यालय डिल्लीबजार अन्तर्गतको ३ नम्बर नापी टोली (माछापोखरी) का प्रमुख डिल्लीबहादुर वलीलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा टोखा नगरपालिका–५ स्थित वसुन्धारा चोकको एक रेस्टुरेन्टबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार भदौ ३१ गते नियन्त्रणमा लिइएका वलीमाथि विशेष अदालतबाट म्याद थप गरी आवश्यक छानबिन तथा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

