काठमाडौँ । त्रिशूली नदीमा आएको बाढीका कारण पहिरो गई अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक पुनर्निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।
सडक विभागका अनुसार आउँदो असोज १ गतेदेखि उक्त खण्डमा यातायात सेवा पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्यका साथ बाँकी कामहरू तीव्रताका साथ भइरहेका छन् ।
भदौ १० र १४ गते परेको अविरल वर्षा र त्रिशूलीको कटानका कारण कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक पूर्ण रूपमा बगेपछि देशको मुख्य राजमार्ग ठप्प बनेको थियो । लगत्तै सडक विभागले जनशक्ति तथा आवश्यक भारी उपकरण परिचालन गरी नयाँ ट्र्याक खोल्ने र कटान भएको भागमा पुनर्स्थापना गर्ने कार्य अघि बढाएको थियो ।
भदौ २८ गते परीक्षणका रूपमा दुवैसतर्फबाट ग्यास बुलेट, भारी तथा साना सवारीसाधनहरू चलाएर हेरिएको र उक्त परीक्षण सफल भएको विभागले पुष्टि गरेको छ ।
यद्यपि, सडकको स्तरोन्नति, पर्खाल निर्माण तथा सुरक्षात्मक प्रबन्धका केही प्राविधिक काम अझै बाँकी रहेकाले हाल सर्वसाधारणका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
असोज १ गतेअघि उक्त खण्डबाट जोखिम मोलेर आवागमन नगर्न र प्रशासनले तोकेका वैकल्पिक मार्गहरूको प्रयोग गर्न सडक विभागले चालक तथा यात्रुहरूसँग अपिल गरेको छ ।

