काठमाडौँ । आपत्कालीन स्वास्थ्य जोखिम र दुर्घटनाका बेला घाइतेको जीवन जोगाउन प्राथमिक उपचारको ज्ञान अपरिहार्य रहेको सन्देश दिँदै आज विश्वभर प्राथमिक उपचार दिवस मनाइँदैछ ।
अन्तर्राष्ट्रिय परम्पराअनुसार हरेक वर्ष सेप्टेम्बरको दोस्रो शनिबार यो दिवस मनाइने गरिन्छ । कुनै पनि आपत्कालीन परिस्थिति सिर्जना हुँदा दक्ष स्वास्थ्यकर्मी आइपुग्नुअघि सर्वसाधारणले दिने तत्कालीन सहयोगले बिरामी वा घाइतेको अवस्था थप बिग्रन पाउँदैन ।
यस वर्ष ‘प्रवासको अवस्थामा प्राथमिक उपचार’ भन्ने मूल नाराका साथ दिवस मनाइँदैछ । यसले विशेषगरी यात्राका क्रममा रहेका, आप्रवासी तथा विस्थापित जनसंख्यालाई सहजरूपमा प्राथमिक उपचार सुविधा पुर्याउनुपर्ने दायित्वलाई उजागार गरेको छ ।
सन् २००० देखि मनाउन थालिएको यो दिवसले स्थान सुरक्षित गर्ने, घाइतेको स्थिति जाँच्ने, उद्धारका लागि सहयोग माग्ने र आवश्यक प्राथमिक सहयोग उपलब्ध गराउने जस्ता चार आधारभूत चरणबारे समाजका हरेक वर्ग र समुदायलाई सचेत गराउने लक्ष्य राखेको छ ।

