काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) को अत्यधिक प्रयोगले मानिसको मौलिक सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा गम्भीर असर पुर्याउन थालेको भन्दै अनुसन्धानकर्ताहरूले चिन्ता व्यक्त गरेका छन् ।
एआईले केही सेकेन्डमै जटिल समस्याको समाधान उपलब्ध गराउन थालेपछि विशेष गरी विद्यार्थी वर्गमा आफैँ विश्लेषण गर्ने अभ्यास घट्दै गएको निष्कर्ष निकालिएको छ ।
विश्वभर एआईको प्रयोग तीव्र भइरहँदा यसले बौद्धिक क्षमतामा पार्ने दीर्घकालीन प्रभावबारे बहस चर्किएको छ । पेकिङस्थित छिङह्वा विश्वविद्यालयका शिक्षा अनुसन्धानकर्ता लिक्सियाङ यानका अनुसार विद्यार्थीहरूले गृहकार्य वा प्रश्नको उत्तरका लागि पूर्ण रूपमा एआईमा निर्भर हुने परिपाटीले उनीहरूको आफैँ समाधान खोज्ने अवसर खोसिरहेको छ । यसैलाई मध्यनजर गर्दै ‘नेचर’ पत्रिकामा प्रकाशित अध्ययन र अमेरिकन एसोसिएसन अफ कलेजेस एन्ड युनिभर्सिटिजको सर्वेक्षणमा सहभागी ९० प्रतिशतभन्दा बढी प्राध्यापकहरूले जनरेटिभ एआईले विद्यार्थीको अध्ययन क्षमता कमजोर बनाएको स्वीकारेका छन् ।
भर्जिनिया विश्वविद्यालयका वैज्ञानिक ड्यानियल विलिङ्घमका अनुसार मस्तिष्कलाई चुनौती दिँदा मात्र सिकाइ प्रक्रिया बलियो हुन्छ । त्यसैले शिक्षकहरूले केवल एआईबाट सामग्री सार्न नमिल्ने गरी व्यावहारिक र व्यक्तिगत अनुभवमा आधारित मूल्याङ्कन ढाँचा तयार पार्नुपर्ने सुझाव अनुसन्धानकर्ताहरूको छ ।
एआईले दिएका उत्तरहरूलाई अन्धधुन्द स्वीकार्नुको सट्टा तिनको सत्यता र प्रमाणमाथि प्रतिप्रश्न गर्ने, तथ्याङ्कका आधारमा निष्कर्ष निकाल्ने र निरन्तर बौद्धिक अभ्यास जारी राख्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

