काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि १ हजार रुपैयाँ दरका नयाँ बैंक नोट (सिरिज २०२५) औपचारिक रूपमा बजारमा ल्याएको छ । साविककै आकारमा निकालिएको यो नोटमा पर्पल (बैजनी) रङको घेराभित्र फिक्का हरियो देखिने गरी रङ संयोजनमा परिवर्तन गरिएको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार नयाँ नोटमा गभर्नर प्राडा विश्वनाथ पौडेलको दस्तखत रहेको छ । संकेत नम्बर ट–९२ ०००००१ देखि त–५० ९९९९९९ सम्म जारी गरिएको यस नोटको अग्रभागमा सगरमाथा, लालीगुराँस र ‘१०००’ अंकित पानीछाप समावेश छ । दृष्टिविहीन व्यक्तिहरूले सहजै पहिचान गर्न सकून् भन्ने उद्देश्यले रोमन अक्षर ‘एम’ र तेर्सा रेखाहरू राखिएका छन् ।
सुरक्षा प्रविधितर्फ, सीधा हेर्दा सुनौलो र ढल्काउँदा हरियो देखिने भगवतीको चित्रका साथै रातो र हरियो रङ परिवर्तन हुने चलायमान सुरक्षण धागो प्रयोग गरिएको छ । नोटको पछाडिपट्टि चितवनको सरकारी हात्तीसारमा देवकली नामकी हात्तीबाट जन्मिएका प्रसिद्ध जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’को चित्र अंकित छ ।
यसका साथै सात प्रदेशको प्रतिनिधित्व गर्ने सातवटा लालीगुराँस र हनुमानढोकास्थित ल्होँचोकको ऐतिहासिक थामको आकृतिसमेत समावेश गरिएको छ । नयाँ नोटको सिरिज संकेत नम्बर ९२०००००१ बाट सुरु भएको राष्ट्र बैंकले जनाएको छ ।

