काठमाडौँ । ललितपुर जिल्ला अदालतको आदेशपछि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई जनही पाँच लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
अदालतले बुधबार दुवै जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । ठगी, खेल मिलेमतो तथा आर्थिक अनियमितताको अभियोग लगाउँदै जिल्ला सरकारी वकिल कार्यालयले अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेविरुद्ध अदालतमा मुद्दा दर्ता गराएको थियो । यसअघि नै कोषाध्यक्ष जोशी १५ लाख र लेखापाल पाण्डे १२ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् ।
नेतृत्व तहमा उत्पन्न विवाद र कानुनी संकटका कारण नेपाली फुटबल क्षेत्र थप अन्योलमा परेको छ । गैर-फुटबल निकाय वा तेस्रो पक्षको हस्तक्षेप भएको जनाउँदै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले गत जुन २४ देखि एन्फालाई निलम्बनमा राखेको छ । फिफाको यस निलम्बनका कारण नेपाली राष्ट्रिय टोलीका साथै घरेलु क्लबहरू समेत अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाएका छैनन् ।
यसैबीच एन्फाभित्रको आन्तरिक गतिरोध अन्त्य गर्न र फिफाको निलम्बन फुकुवा गराउन वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको अगुवाइमा बहुमत कार्यसमिति सदस्यहरू सक्रिय भएका छन् । उनीहरूले आगामी कात्तिक १३ गते कार्यसमिति बैठक डाकेर आवश्यक कदम चाल्ने तयारी गरेका छन् ।

