काठमाडौँ । भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातास्थित दुर्गा पूजा मण्डपमा शनिबार साँझ भीषण भागदौड मच्चिँदा कम्तीमा १९ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेहरूमा दुई जना बालबालिका समेत रहेका छन् । घटनामा परी २५ जनाभन्दा बढी सर्वसाधारण घाइते भएका छन् ।
यद्यपि, कोलकाता मेडिकल कलेजका स्रोतहरूले भने मृतकको सङ्ख्या २० पुगेको र ४५ जनाभन्दा बढी घाइते भएको दाबी गरेका छन् ।
स्थानीय प्रहरीका अनुसार शनिबार साँझ एक्कासि वर्षा भएपछि ओत लाग्नका लागि बाहिर रहेका मानिसहरू एकैपटक पण्डालभित्र छिर्न खोज्दा धकेलाधकेल भई भागदौड भएको थियो ।
स्थिति नियन्त्रणमा लिन पण्डालका बत्ती निभाएर प्रवेश रोकिएको थियो भने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सहरका अन्य केही पूजा पण्डालहरूसमेत बन्द गराइएको छ ।

