काठमाडौँ । बाढी र पहिरोले क्षति पुर्याएको म्याग्दीस्थित कालीगण्डकी करिडोर प्रसारण लाइन एक्काइस दिनपछि अस्थायी रूपमा सञ्चालनमा आएको छ ।
नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली (इआरएस) टावर जडान गरेर दाना–राहुघाट खण्डको प्रसारण लाइन सुचारु गरेको हो । गत असोज ११ गतेको बाढीका कारण अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर क्षेत्रमा चारवटा टावरहरू क्षतिग्रस्त भएका थिए । यस अवरोधका कारण दाना सबस्टेसनसँग जोडिएका पाँच जलविद्युत् आयोजनाबाट उत्पादित १७० मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोड्न बन्द भएको थियो ।
टावर नम्बर २१, २३ र २४ पूर्ण रूपमा तथा टावर नम्बर २२ आंशिक रूपमा भत्किएका थिए । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार दुर्गम र भौगोलिक रूपमा कठिन भूगोलमा इआरएस टावर जडान गरी लाइन सुचारु गर्न सफल भइएको छ ।
पोखरा ग्रिड महाशाखाका प्रमुख रोशन खड्काले अस्थायी सञ्चालनपछि अब स्थायी टावर निर्माणको काम अगाडि बढाइएको जानकारी दिएका छन् । करिब १३० किलोमिटर लामो यस प्रसारण लाइनले १ हजार २०० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने क्षमता राख्छ ।

