काठमाडौँ । पश्चिम नेपालका दुई महत्त्वपूर्ण विमानस्थलको स्तरोन्नति र विकासका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सम्भाव्यता अध्ययन सुरु गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको दीर्घकालीन विकास एवम् विस्तारसम्बन्धी अध्ययन अघि बढाउन क्यानका पदाधिकारीहरूलाई औपचारिक निर्देशन दिएका हुन् ।
मन्त्री पौडेलसहितको टोलीले गत असोज २१ देखि २६ गतेसम्म नेपालगञ्ज, दाङ, रारा र जुम्ला विमानस्थलको स्थलगत निरीक्षण तथा अवलोकन भ्रमण गरेको थियो । भ्रमणलगत्तै बिहीबार मन्त्रालयमा आयोजित छलफलका क्रममा मन्त्री पौडेलले दुवै विमानस्थलको पूर्वाधार, प्राविधिक सम्भाव्यता र सञ्चालन क्षमता बढाउने उपायबारे अध्ययन गर्न निर्देशन दिएका हुन् ।
क्यानका महानिर्देशक मुकेश डङ्गोलका अनुसार टरिगाउँ विमानस्थलको विस्तारले स्थानीय स्तरमा हवाई सेवा थप सहज हुनुका साथै पर्यटन र क्षेत्रीय विकासमा सहयोग पुग्नेछ । यस्तै रारा विमानस्थलको हकमा हालकै धावनमार्गको स्तरोन्नति गर्ने वा आवश्यकता अनुसार वैकल्पिक स्थानमा नयाँ विमानस्थल निर्माण गर्ने भन्ने विषयमा समेत प्राविधिक अध्ययन गरिनेछ । अध्ययन पूरा भई योजना कार्यान्वयनमा आएपछि दुर्गम क्षेत्रको पर्यटन तथा आर्थिक-सामाजिक विकासमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

