काठमाडौँ । दूरदराजका नागरिकसम्म स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न टेलिमेडिसिन सेवालाई थप व्यवस्थित र दिगो बनाइने भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आयोजित एक विशेष बैठकमा मन्त्री निशा मेहताले यस सेवालाई प्रभावकारी रूपमा अघि बढाउनेबारे सरोकारवालाहरूसँग गहन छलफल गरेकी हुन् ।
मन्त्री मेहताको अध्यक्षतामा बसेको उक्त बैठकमा स्वास्थ्य सचिव डा. विकास देवकोटा, विभागीय निमित्त महानिर्देशक, उपचारात्मक सेवा महाशाखाका प्रमुखका साथै वीर अस्पताल र पाटन अस्पतालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । छलफलका क्रममा टेलिमेडिसिन सेवालाई निरन्तरता दिन आवश्यक बजेट, दक्ष जनशक्ति तथा संस्थागत संरचनाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा जोड दिइएको छ । सेवालाई सहजरूपमा सञ्चालन गर्न छुट्टै जनशक्तिको प्रबन्ध मिलाउनेबारे पनि परामर्श भएको मन्त्रीको सचिवालयले जनाएको छ ।
यस्तै, दूरस्वास्थ्य सेवामार्फत बिरामीले पाएको परामर्शको विवरण र अन्य स्वास्थ्य अभिलेखलाई सुरक्षित एवं व्यवस्थित तरिकाले राख्ने प्रविधिबारे पनि छलफल भएको थियो । भविष्यमा आउन सक्ने सम्भावित प्राविधिक तथा व्यवस्थापकीय चुनौतीहरूको पहिचान गरी पूर्वतयारी गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन् । खासगरी सेवाग्राहीको पहिचान प्रमाणीकरणलाई पारदर्शी बनाई नागरिकमा टेलिमेडिसिनप्रतिको विश्वास बढाउनुपर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।
मन्त्री मेहताले टेलिमेडिसिन केवल प्रविधिको प्रयोग मात्र नभई दुर्गमका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवासँग जोड्ने बलियो माध्यम भएको उल्लेख गरिन् । सेवाको विश्वसनीयता कायम राख्दै आगामी दिनमा आवश्यक नीतिगत, प्राविधिक र व्यवस्थापकीय सुधारसहित ठोस कार्ययोजनाका साथ अघि बढ्ने निर्णय बैठकले गरेको छ ।

