काठमाडौँ । नयाँदिल्लीमा जारी बिम्स्टेकका गृहमन्त्रीस्तरीय प्रथम बैठकका अवसरमा नेपालका गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबिच द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।
उक्त भेटवार्ताका क्रममा दुई देशबिचको सुरक्षा समन्वयलाई अझ बलियो बनाउने तथा सीमा व्यवस्थापनलाई सहज र चुस्त बनाउने विषयमा गहन संवाद भयो । यसका साथै अन्तरदेशीय अपराध नियन्त्रण र विपद् व्यवस्थापनका लागि पूर्वतयारी एवं तत्काल प्रतिकार्यमा सहकार्य बढाउनेबारे दुवै पक्षबिच सहमति बनेको छ ।
सो अवसरमा गृहमन्त्री गुरुङले हालै नेपालमा आएको भीषण बाढीपहिरोपछि भारत सरकारले पुर्याएको तत्काल सहयोगप्रति विशेष धन्यवाद ज्ञापन गरे । उनले दुई देशबिचको सम्बन्ध सार्वभौम समानता, आपसी सम्मान र विश्वासका आधारमा अघि बढ्नुपर्ने र यसैबाट दुवै देशका नागरिकको हित प्रवर्द्धन हुने धारणा राखेका थिए ।

