काठमाडौँ । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सन् २०२६ को वार्षिक बैठकमा नेपालको तर्फबाट नेतृत्व गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले थाइल्याण्डको बैंककसतर्फ उडेका छन् ।
मन्त्री वाग्लेसँगै अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख सहसचिव अमृत लम्साल पनि सो टोलीमा संलग्न रहेका छन् ।
बैठक अवधिभर अर्थमन्त्रीले उच्चस्तरीय प्लेनरी सत्र, मन्त्रीस्तरीय गोलमेच सम्मेलनका साथै विभिन्न द्विपक्षीय छलफलहरूमा सक्रिय सहभागिता जनाउनेछन् । यस क्रममा उनले आईएमएफका प्रबन्ध निर्देशक, विश्व बैंकका सञ्चालन प्रबन्ध निर्देशक तथा एसियाली विकास बैंक (एडीबी) का अध्यक्षसँग छुट्टाछुट्टै भेटघाट गरी सहयोग र साझेदारीका विषयमा छलफल गर्ने कार्यसूची छ ।
यसैगरी, सन् २०२७ मा जी २० को अध्यक्षता सम्हाल्न लागेको बेलायतका विदेश मन्त्रीसँग पनि अर्थमन्त्री डा. वाग्लेको द्विपक्षीय वार्ता हुनेछ । आर्थिक विकासका मुद्दाबाहेक विपद् व्यवस्थापन र जलवायु परिवर्तनका कारण हुने चरम मौसमी घटनाको पूर्वतयारीसम्बन्धी विशेष सत्रमा उनले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

