काठमाडौँ । डिजिटल नेपालको अवधारणाअनुरूप चुनावलाई अत्याधुनिक प्रविधिसँग जोड्ने दिशामा निर्वाचन आयोगले महत्त्वपूर्ण कदम बढाएको छ ।
आयोगद्वारा हालै आयोजित एक विशेष अन्तरक्रिया तथा प्रविधि प्रदर्शन कार्यक्रममा विज्ञहरूले अनलाइन मतदान प्रणाली, यसको साइबर सुरक्षा तथा अन्तर्राष्ट्रिय सफल अभ्यासहरूबारे सूक्ष्म विश्लेषण प्रस्तुत गरेका छन् । सो अवसरमा एसएमएआरटेक (स्मारटेक) संस्थाले अनलाइन मतदान कसरी सञ्चालन हुन्छ भन्ने विषयमा प्रत्यक्ष प्राविधिक नमुना प्रदर्शन समेत गरेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आयोग अब डिजिटल प्रणालीतर्फ अघि बढ्न तयार रहेको स्पष्ट पार्नुभयो । यद्यपि, यसलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन प्रविधिगत तयारी, मजबुत साइबर सुरक्षा र सरोकारवाला निकायहरूबिच बलियो सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ थियो । यस्तै, निर्वाचन आयुक्त डा. राजीब सुब्बाले अनलाइन चुनाव गराउनुअघि सरकारी निकायहरूसँग उपलब्ध प्रविधि, जनशक्ति र क्षमताको लेखाजोखा (नक्साङ्कन) हुनुपर्नेमा जोड दिनुभयो । उहाँले डिजिटल पहिचान, मतदाताको प्रमाणीकरण तथा प्रणालीहरू बिचको अन्तरआबद्धतालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्नुभयो ।
नेपाल प्रहरी, राष्ट्रिय परिचयपत्र, राहदानी र अध्यागमन विभागजस्ता प्रमुख निकायका २४ भन्दा बढी प्रविधि प्रमुखहरूको सहभागिता रहेको उक्त कार्यक्रमले भविष्यमा नेपालमा अनलाइन मतदान प्रणाली लागू गर्नका लागि प्राविधिक तथा संस्थागत आधार खडा गरेको आयोगले जनाएको छ ।

