काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
प्राविधिक कारण तथा मौसम प्रतिकूल बनेपछि बिहान ७ बजेका लागि तय भएको मतदान प्रक्रिया ३ घण्टा ढिला गरी बिहान १० बजेदेखि सुरु हुन लागेको हो ।
वरिष्ठ अधिवक्ता एवं केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार मतदाताको सहजतालाई ध्यानमा राख्दै राजधानीका तीन फरक स्थानमा सातवटा मतदान केन्द्रको प्रबन्ध मिलाइएको छ । जसअन्तर्गत बागमती प्रदेशका प्रतिनिधिहरूले राष्ट्रिय सभागृहमा पुगेर मत खसाल्नेछन् ।
यसैगरी खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिका प्रतिनिधिहरूका लागि मतदानको व्यवस्था गरिएको छ । गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूले भने प्रज्ञा भवनमा रहेको मतदान केन्द्रबाट आफ्नो अधिकार प्रयोग गर्नेछन् ।
आफ्नो तोकिएको केन्द्रमा पुगेर परिचयपत्र र मतदाता नामावली रुजु गराएपछि मात्रै प्रतिनिधिहरूलाई प्रवेश दिइने निर्वाचन समितिले जनाएको छ । यस महाधिवेशनमा देशभरका ७ हजार २५५ जना प्रतिनिधिहरूले पार्टीको नयाँ केन्द्रीय कार्यसमिति चुम्नका लागि मतदान गर्दैछन् ।

