काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पिछडिएको क्षेत्र कोटाका विभिन्न तीन पदको मतगणना सकिएको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार सहमहामन्त्री, खुला केन्द्रीय सदस्य तथा महिला केन्द्रीय सदस्य पदमा तीन नेता विजयी बनेका छन् ।
सहमहामन्त्री (पिछडिएको क्षेत्र) तर्फ जीवनबहादुर शाही ३ हजार ९०६ मत प्राप्त गर्दै विजयी भएका हुन् । सो पदका अन्य प्रत्याशीहरूमध्ये जनक राज गिरीले १ हजार ३७०, नारायणप्रसाद भट्टराईले ७२१, राजन कुँवरले ३२४ र रामबहादुर बिस्टले २६० मत प्राप्त गरे ।
यसैगरी, पिछडिएको क्षेत्रकै खुला केन्द्रीय सदस्य पदमा दिपकजंग शाह २ हजार २६१ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी तपेन्द्र खड्काले २ हजार ४४ मत ल्याउँदा कालीबहादुर सहकारीले ८७७, ईश्वरबहादुर मल्लले ७८१ र विरेन्द्रराज गिरीले ५३४ मत हात पारेका छन् ।
त्यसैगरी महिलातर्फको पिछडिएको क्षेत्र केन्द्रीय सदस्यमा सुशीला मिकत २ हजार ९८६ मतका साथ विजयी बनेकी छन् । उक्त पदका प्रत्याशीहरू जुना कुमारी दानीले २ हजार १० र शान्तिकुमारी बोहरा पुजाराले १ हजार ५३३ मत प्राप्त गरेका छन् ।

